काठमाण्डौ – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत ुसालको पातु सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको बताएका छन् ।
हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् ।
व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक गरेका थिए । तर समयको मागअनुसार उनले आफूलाई हास्य कलाकारको रूपमा पनि निखार्दै लगे र व्यावसायिक रूपमा अघि बढे ।
अहिले उनी बौद्धिकस्तरको कमेडियनका रूपमा स्थापित भइसकेका छन् । झन्डै २५ वर्ष कमेडीमा खर्चेका उनले नेपाली कमेडी शो र कमेडी हब जस्ता टेलिभजन शोमा निर्देशक र कलाकारको रूपमा पनि काम गरिसकेका छन् ।
राजा राजेन्द्रले पछिल्लो समय गायनलाई पनि उत्तिकै समय दिइरहेको पाइन्छ । यही क्रममा सार्वजनिक भएको ुसालको पातु बोलको गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ । गीतमा वैदेशिक रोजगारीमा गएका एक युवा साउदीको जेलमा परेपछि परिवारमा परेको पीडा र एक श्रीमतीको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ । यसमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको निर्देशन रहेको यसै गीतमार्फत कलाकार युवराज गौतमले डेब्यु गरेका छन् । युवराजले पहिलो भिडियो मै अभिनेत्री शिल्पासँग जोडी बाँध्ने अवसर पाएका हुन् । कलाकार सुरवीर पण्डित अर्थात् ुदाह्री बाु र बाल कलाकार एलेक्श खड्का पनि मुख्य कलाकारको रूपमा रहेका छन् । राजा राजेन्द्रको आवाज रहेको यस गीतमा श्रमदीप चौलागाईँको शब्द र सङ्गीत रहेको छ । भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।
राजा राजेन्द्रका ुटेबल फ्यानु, ुपिरतीको चस्माु, ुलोकल नभई हुँदैनु जस्ता गीतहरू चर्चित छन् ।