सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।
दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन ।
जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड ६१ लाख ११ हजार ४ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको छ ।
गाउँपालिका मध्ये जिल्लाको तिनपाटन गाउँपालिकाले ८१ करोड ५० लाख ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बताए ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ ।
यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत निति तथा कार्यक्रममा प्राथमिकता राखिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाको भनाई छ ।
हरिहरपुरगढी गाउँपालिकाले ६८ करोड ५९ लाख ७७ हजारको बजेट सार्वजनिक गरेको छ भने सुनकोसी गाउँपालिकाले ६४ करोड १५ लाख २७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम र उपाध्यक्ष कपिल कोइरालाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । कुल ६३ करोड ८० लाख ६३ हजार ८० सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको मरिण गाउँपालिकाले कृषि र रोजगारलाई मुख्य प्राथमिकता दिएको भएपनि आगामी वर्षका लागि समाजवाद उन्मुख आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याइएको मरिण गाउँपलिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको भनाई छ ।
अध्यक्ष मोक्तानद्धारा प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ ।
‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता दिईने छ । गणतन्त्र सेनानी पूर्वजनमुक्ती सेनालाई सम्मान र आजिवन स्वास्थ्य विमाको कार्यक्रम लागु गरिने छ,’ अध्यक्ष मोक्तानले भने ।
गोलन्जोर गाउँपालिकाले गाउँपालिकालाई कृषि तथा फलफुलमा आत्मनिर्भर बनाउने महत्वपूर्ण योजनाका साथ निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
यस्तै फिक्कल गाउँपालिकाले ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फिक्कलले पनि कृषिलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उपाध्यक्ष राजु बरालले जनाए ।
जिल्लामा सबभन्दा कम बजेट घ्याङ्लेख गाउँपालिकाले सार्वजनिक गरेको छ । उक्त पालिकाले ४२ करोड ९० लाख ३ हजार ३ सय ६५ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो । यस पटक जिल्लाका सबै पालिकाहरुले तोकिएको समयमा नै निति तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।


