छाप (सिन्धुली) । मरिण गाउँपालिका सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् ।
गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन ।
ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ ।
मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा छिन ।
उनि घरेलु ढाकाजन्य हाते कपडा उत्पादनका लागी सिप सिकाउने प्रशिक्षक समेत हुन् । आफु सिक्दै र अरु दिदि बहिनीलाई सिकाउँदै आएकी मगर अहिले मासिक २० हजार रुपैयाँ समेत आम्दानी गर्दै आएकी छिन् ।
मरिण गाउँपालिकाले तिन महिने ढाका बुनाई सीप विकास तालिम सुरु गरेपछि मगरले प्रशिक्षण गराउँदै यस्तो आम्दानी समेत लिन थालेकी हुन ।
मरिणकै लक्ष्मी माझीले कक्षा १२ पास गरेकी छिन । माझी पनि विष्णु मगरसंगै ढाका उद्योगमा तान बुन्छीन । पहिला तिन महिना तालिम लिई सकेकी माझी पुनःताजकीका लागि थप तिन महिना तालिम लिन आएकी हुन । उनका श्रीमान् एउटा चप्पल गोदाममा काम गर्छन । त्यसले घरखर्च चलाउन धाउधाउ भएपछि आफै सिप सिकेर व्यावासय गर्ने आयआर्जन गर्ने उद्देश्यले तालिममा सहभागि भएको माझीको भनाई छ । उनले अहिले ढाकाको कुर्था, सलवार, साडीमा बुट्टा भर्न सक्ने भएको बताईन ।
‘हातमा सिप भए घरमै तान राखेर पनि व्यवसाय गर्न सकिने भएपछि मैले ढाका बुनाई तालिम रोजेकी हुँ । यसबाट राम्रो गर्न सके मासिक १० देखि १५ हजार कमाउन अन्त जानु पर्दैन,’ उनले भनिन् ।
गाउँका कतिपय महिला दिदि बहिनीहरु आफु संगै पतिलाई रोजगारीका लागि खाडी मुलुक पठाउने गरेका छन । श्रीमानको कमाइ पनि खासै राम्रो छैन, परिवार चलाउनै समस्या भएपछि आफु पनि व्यावसाय गर्ने सोचले ढाका बुनाई सिप सिक्न आएको अर्की उद्यमी बसन्ती माझीले थपीन् । उनका श्रीमान अटो चालक हुन् । उनको पनि साथमा एक जना बालखा छोरा छन । एसइई पास गरेकी बसन्ती घरमा बस्दा त्यतिकै समय खेर जाने भएपछि सिप सिकेर व्यावसाय गर्ने मनसाय सहित तालिममा सहभागि भएकी हुन ।
‘ढाका बुनाइमा काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छन, दिनकोे चारपाँच घण्टाको समयमा मात्र काम गरियो भने पनि महिनामा १२÷१५ हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ । हामी महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो रहेछ,’ उनले थपिन् ।
मरिणमा मगर र माझी जस्ता स्थानीय दश जना महिलाहरु छापको सिप विकास केन्द्रमा ढाका उत्पादनमा केही मनिा देखि सिप सिकीरहेका छन ।
गएको चैत्र १५ गतेदेखि मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला लघु उद्यमी समूह संघ (डि–मेगा)को सहजिकरणमा तिन महिने ढाका बुनाई सीप विकास तालिम सुरु भएपछि मरिणका १० जना महिलाहरु सहभागि भएका हुन् ।
तालिममा अधिकांस बिवाहीत महिलाहरु सहभागि छन । तालिम पछि गाउँमै ढाका उद्योग संचालन गरेर राम्रो आम्दानी गर्ने सहभागिहरुको अपेक्षा छ । कतिपयले यस अघिनै तिन महिनाको तालिम लिईसकेका छन ।
मरिण गाउँपालिकाले बिवाहीत मलिाहरुलाई स्वरोजगार गराउने उद्देश्यले पालिकामै ढाका बुनाई, ग्रामेन्ट उद्योग स्थापनाका लागि सिलाई कटाई जस्ता तालिम दिँदै आएको छ ।
तालिममा सहभागिहरुले उत्पादन गरेको ढाकाको बपाडाबाट बाट टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरू तयार हुन्छ ।
गाउँमै महिलाहरुलाई हस्तकला तालिम दिएर उद्यमी बनाएर स्वारोजगार बनाउने उद्देश्यले गाउँपालिकाले महिला दिदि बहिनी लक्षीत कार्यक्रमहरुलाई प्राथमिकता दिएर संचालन गरिरहेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को भनाई छ ।
हरेक महिलाहरु उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ।
‘सामुहीक वा व्यक्तिगत रुपमा पनि आ–आफ्नो घरमा तान लगाएर पनि ढाका बुनेर आयआर्जन गर्न सक्ने भएपछि यस व्यवसायलाई गाउँपालिकाले प्राथमिकतामा राखेको हो,’ उनले भने ।
ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन हो । थोरै पूँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनसुकै स्थानमा पनि सजिलैसँग संचालन गर्न सकिन्छ ।
गाउँपालिकाका महिलाहरुलाई सिप विकास गर्दै स्वरोजगार बनाई आत्मनिर्भर बनाउन मरिण ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिमको आयोजना गरिएको छ । त्यहाँ पनि २५ जना गृहिणी महिलाहरुको सहभागिता रहेको छ । त्यहाँ जिल्लामै पहिलो र ठुलो ग्रामेन्ट उद्योग स्थापना गर्ने पालिकाले योजना बनाएको छ ।
महिलाले उत्पादन गरेका यस्ता सामग्री बजारीकरण र प्रवद्र्धनमा स्थानिय सरकारले नै पहल गर्ने मोक्तानको भनाई छ । उनले भने, ‘पालिकामा उत्पादन भएको ढाका जन्य उत्पादन र लत्ता कपडालाई जिल्ला बाहिर निर्यात गर्ने गरी योजना बनाइएको छ ।’
मरिणले गाउँपालिकाका महिला तथा किशोरीहरुका लागि लक्षित गर्दै शिक्षामा समान पहुँचका लागि कक्षा १२ सम्म अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण तथा स्नातक अध्ययन गर्ने छात्रालाई एक लाख रुपैयाँसम्मको प्रोत्सहना कार्यक्रका साथै बागमती प्रदेश सरकारसंगको समन्वयमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम संचालन गर्दै आएको छ ।


