सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका १ खलङ्गामा नेपाल टेलिकमको फोजी सेवा संचालनमा आएको छ ।
मरिण गाउँपालिकाकै अति दुर्गम क्षेत्र मानिने खलङ्गामा शुक्रबारबाट फोजी सेवा संचालनमा आएको हो ।
गाउँपालिकाको लामो समयदेखिको पहलमा नेपाल टेलीकमले नेटवर्क टावर स्थापना गरेपछि उक्त सेवा सुरु भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।
यस अघि नेपाल टेलीकमका मोवाईहरुमा नेटवर्क समेत नदेखाउने खलङ्गामा टावर स्थापना भएसंगै मरिणको खलङ्गा, सिर्थौली, सखौरी सिर, कात्र्तिके, भदौरे, मान्द्रे ,टुँडिखेल, बेतपानी, ठुलिदमार, सुकेखोला लगायतको बिभिन्न स्थानमा संचार सुविधा पुगेको छ ।
‘टेलिकमको टावर पूर्ण रुपमा संचालनमा आएसंगै मरिणका एक दर्जनबढी बस्तिहरुमा एनटीसि नेटवर्क संचालनमा आएको छ । त्यसमा पनि फोजीको सुविधा छ,’ अध्यक्ष मोक्तानले भने ।
यस क्षेत्रमा यस अघि मोवाइल नेटवर्क नहुँदा स्थानीय सहज संचार प्रवाहमा समस्या हुने गरेको थियो ।
घरमै बसिबसी मोवाइल नेटवर्क चलाउन सकिने भएपछि स्थानीयहरु खुसी भएका छन । निकै ठुलो मेहनत र लामो समयको प्रतिक्षापछि टेलीकमको टावर निर्माण गर्न सफल भएको अध्यक्ष मोक्तानले बताए ।


