डा.प्रकाश बुढाथोकी
मनसुन शुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल विस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा १४ औँ र हरितगृह ग्यास उत्सर्जनका हिसाबले १०९ औँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणविना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।
गएको वर्ष सात सय ६९ विपद्का घटना हुँदा ६३ जनाको ज्यान जानुका साथै ६९ जना घाइते तथा ३० जना बेपत्ता भएको तथ्याङ्क छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट झन्डै १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गएको जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ ।
मनसुन शुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन ज्यान गुमाउने, घाइते र बिरामीहरूको तथ्याङ्क आइरहेका छन् । कोशी प्रदेशबाट शुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुगिसकेको छ । ३३ जिल्ला प्रभावित, ३० जनाभन्दा धेरैको ज्यान जानुका साथै हजारौँ परिवार प्रभावित र भएका छन् । शुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको सङ्केत गरेको छ ।
विपद्ले ल्याउने स्वास्थ्य समस्या
वर्षाको समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षाको समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेङ्गी, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको पानीले ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको विष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परि प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले जन्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ ।
बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू– टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावका कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लू बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो ।
यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । झन्डै सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खसखसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिँगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ ।
पानीजन्य रोगहरू
रोगका किटाणु पानीको मुहानमा परेर सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुका, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जन्डिसलगायत २० वटा सरुवा रोग पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्र गतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ ।
पटकपटक पातलो दिसा ९तीन पटकभन्दा बढी० हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिङ्गा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
टाइफाइडमा शुरुमा रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट शुरु हुन्छ । त्यसपछि बिस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र बिस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ ।
वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’ को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । यी दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ ।
लामखुट्टेजन्य रोगहरू
वर्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीव्र ज्वरो हुने डेङ्गी, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ ।
वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै त्यो ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौँ, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिँड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । बिरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाब रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र ज्यान जान्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ ।
मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा हृदयघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।
टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ । टोकेको ठाउँदेखि दुईरतीन इन्चमाथि मुटुतिर अलग–अलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ ।
मनसुनजन्य विपद् तयारी र प्रतिकार्य
उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोत साधनको व्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मी विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाण्डौमा हेलिकप्टर तैनाथ छन् । बेलिब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्ड पोस्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र पालिकामा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ ।
पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको द्रूत लेखाजोखा गर्ने तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रूत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेङ्गीका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् ।
अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभाबी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ ।
(लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ । यो लेख हामीले राससबाट साभार गरेका हौं ।)


