सिन्धुली । सिन्धुलीमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना प्रधानाध्यापक घाइते भएका छन् ।
सर्लाही जिल्लाबाट सिन्धुली हुँदै मकवानपुर जिल्ला तर्फ जाँदै गर्द सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ ढप्सेमा अज्ञात समुहले बागमती गाउँपालिका १ बोटगाउँ घर भएका वर्ष ४० का प्रेमबहादुर बम्जनमाथि गोलि प्रहार गरेको सिन्धुली प्रहरीले जनाएको छ ।
गोलि प्रहारबाट बम्जन घाइते भएका छन् । उनको मुखमा गोलि लागेको छ । बम्जन मकवानपुरको बकैया गाउँपालिका ३ स्थित बुद्ध मावीका प्रधानाध्यापक हुन ।
गोलि प्रहारबाट घाइते भएका प्रअ बम्जनलाई सिन्धुली र सर्लाही प्रहरीले उद्धार गरेर सर्लाहीको मोडल अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले जानकारी दिए ।
बम्जन सर्लाहीबाट प्रदेश २–०३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा भाइ दिलबहादुर बम्जनको साथमा सिन्धुली तर्फ आउँदै थिए । सर्लाही र सिन्धुलीको सिमान स्थित ढप्सेमा तिन जनाको समुहमा लुकि बसेका अपरिचित समुहले बम्जनमाथी छोटो हतियार (कट्टा) प्रहार गरेको हुन सक्ने अनुमान गरिएको खड्काको भनाई छ ।
गोलि प्रहार हुँदा बम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको र गोलि मुखकै तल्लो भागमा अड्कीएको प्रहरी प्रवक्ता खड्काको भनाई छ । गोलि प्रहार गर्ने समुहमा रहेका तिनै जना फरार छन् ।
तराई मूलका जस्ता देखिने ३ जना अपरिचित व्यक्तिहरुको खोजिकार्यका लागि जिल्ला स्थित सबै सिमा नाकाहरु सिल गरिएको छ । फरारको खोजतलासका लागि सिन्धुली स्थित इलाका प्रहरी कार्यालय कपिलाकोट, प्रहरी चौकी क्यानेश्वर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा इलाका प्रहरी कार्यालय कर्मैया तथा मकवानपुर जिल्लाको प्रहरीहरु समेत परिचालित भएको बताइएको छ । मोटरसाइकलमा सवार बम्जनलाई अपरिचित समुहले रोकेर गोलि प्रहार गरेका थिए । उक्त घटनामा बम्जनसंगै सवार भाई दिलबहादुरको अवस्था भने सामान्य रहेको र घाइते दाजु प्रेमको उपचारमा संगै रहेको बताइएको छ ।


