सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेका कामका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
बुधबार गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गत साउन देखि मंसिर मसान्तसम्म कार्यसम्पादन गरिएका विषय सार्वजनिक गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत रजन मगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन सिप तथा दक्षताका साथै कर संकलन र उपयोगिताका लगायतका विषयमा गाउँपालिकाले गर्दै गर्दैआएका काम कारबाही, सुशासन, पारदर्शीता र जनसहभागिताका विषयमा स्पष्ट पार्नु भएको थियो ।
उहाँको प्रस्तुती संगै कार्यक्रममा सहभागिहरुले गाउँपालिकाले संचालन गरेका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारका सवालमा गरेका काम कारबाहीका सम्बन्धमा प्रश्न उठाउँदा गाउँपालिकाका अध्यक्ष पार्वति सुनुवार र प्रमुख प्रशासकीय अधिकृतले त्यसको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा सहभागि नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीले गाउँपालिकामा आउने बजेट र योजना कार्यान्वयन, राहत तथा अनुदान वितरण, उपभोक्ता समिति गठन, निर्माण तथा खरिदमा ठेक्का प्रकृया र गाउँबासिमा अनिवार्य प्यान लिनु पर्ने व्यवस्थाका विषयमा जिज्ञासा राख्दा गाउँपालिकाकी अध्यक्ष सुनुवारले गाउँका नागरिकले देखेका सपाना पुरा गर्ने उद्देश्यले नै स्थानीय सरकार लागि परेको र त्यसको कार्यभार पुरा गर्न गाउँपालिकालाई सवलीकरण, सुशासन, पारदर्शीता र जनसहभागिताका माध्ययमबाट ‘समृद्ध फिक्कल, सुखी फिक्कलवासी’ भन्ने नारालाई आत्मसाथ गरेर काम गर्दै आएको स्पाष्ट पार्नु भयो ।

अध्यक्ष सुनुवारले गाउँपालिकामा सपना मात्र नभएर त्यसलाई पुरा गर्ने गन्तव्यतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै सेवा मार्फत सुशासन र सुशासनमार्फत विकास समृद्धिको योजनालाई प्राथमिकीकरण गरेर काम गर्ने गरिएको बताउनु भयो ।

अर्का सहभागि गंगाराम पहाडीले एक वडा एक उत्पादन भन्ने अभियान तथा स्वास्थ्य चौकी निर्माण लगायतका क्षेत्रमा पालिकाले के काम गरिरहेको छ भन्ने जिज्ञासमा समेत अध्यक्ष सुनुवारले बागमती प्रदेस सरकारसंगको सहकार्यमा स्थानीय सरकार र नागरिकको २०÷२० प्रतिसत र प्रदेश सरकारको ६० प्रतिसत लगानीमा एक वडा एक उत्पादन कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ मा संचालन भईरहेको र चालु आर्थिक वर्षमै वडा नम्बर १ मा समेत उक्त कार्यक्रम लागु गर्दै स्थानीय स्तरमै रोजगारको सम्भावनालाई बढाउँदै लगिने बताउँनु भयो ।

स्थानीय नागरिकको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य भवन निर्माणमा गाउँपालिकाले निर्माण कम्पनीसंग अनुरोध गरिरहेको बताइएको थियो ।
मावि खाङसाङका प्रअ सूर्य प्रसाद पहाडी, मावि सालुकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पाख्रिन, विद्यार्थी नेता गोविन्द पहाडी, हेमकुमार आछामी लगायतले विकास निर्माण, विपद् व्यवस्थापन, शिक्षा, कृषि र रोजगार लगायतका क्षेत्रमा भएगरेर काम काबाहीका विषयमा प्रश्न तथा सुझाव राख्नु भएको थियो ।उक्त प्रश्नहरुमाथी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन मगर र अध्यक्ष सुनुवारले जवाफ दिनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका नेता तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण, विपद् व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, अबरुद्ध राजमार्ग संचालनका लागि खेलेको भूमिका तथा राष्ट्रिय परिचय पत्र वितरण, घुम्ती शिविर संचालन, व्यक्तिगत घटना दर्ता, भौतिक पूर्वाधार, खानेपानी, कर संकलन तथा कार्यान्वयन आवश्यक ऐन तथा निति निर्माण लगायतका क्षेत्रमा गरिरएका कामकारबाहीका विषयमा छलफल तथा अन्तरकृया भएको थियो ।

स्थानीय सरकारले कार्यसम्पादन गर्दै आएका हरेक गतिविधिहरुलाई आम नागरिक र सरोकारवालाहरुविच सार्वजनिक कार्यक्रमका माध्यमबाट सार्वजनिक गर्नु तथा जानकारी दिनु पर्ने स्थानीय सरकार संचालन ऐनमै व्यवस्था छ ।



