सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ र ७ जोड्ने घोक्सीला खोलामा पक्की पुलन निर्माण थालिएको छ ।
गोलन्जोर गाउँपालिका ६ घोक्सिला र ७ को माथिल्लो बारा जोड्ने गरि झण्डै साँढे ९ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण थालिएको हो ।
पुलले बीपी राजमार्गसंग जोडिएर गाउँपालिकाकै बैकल्पीक मार्गका रुपमा घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी जोड्ने छ ।

कुल नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिना भित्र सम्पन्न गर्नेगरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा श्रृजना निर्माण सेवाले पाएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीसंग पुल निर्माणका लागि श्रृजना निर्माण सेवाले २०८१ जेठ १४ गते ठेक्का सकार गरेको थियो ।
उक्त पुलको निर्माणकार्य गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौंपाने (पुकार) ले एक कार्यक्रमका विच संयुक्तरुपमा शिलान्यास गरेपछि सुरु गरिएको हो ।
उक्त पुल निर्माण सम्पन्न हुँदा गाउँपालिका कार्यालयसंग ग्रामिण भेका नागरीकको बह्रमहिनानै यातायात पहुँच पुग्ने गाउँपालिकाका अध्यक्ष बरालले बताउँनु भयो ।

घोक्सीला खोलामा पुल नहुँदा यस अघि वर्षातका ६ महिना यातायात ठप्प हुने गरेको थियो ।
अध्यक्ष बरालले भन्नुभयो, ‘घोक्सीला खोलामा पुल नहुँदा हामीले बर्खामा धेरै नै दुःख भोग्नु परेको थियो । वर्षौंदेखिको प्रयासपछि बल्ल गाउँमा पक्की पुल निर्माण सुरु भएको छ । यो गाउँपालिकाको लागि अत्यन्त ठुलो योजना हो । यसलाई समयमानै सम्पन्न गर्न सबै क्षेत्रबाट पहल र सहयोग गर्न आवश्यक छ ।’
गाउँपालिकाका उपाध्यक्ष न्यौपानेका अनुसार उक्त पक्की पुलले गाउँपालिकाका आधा भागका नागरीकलाई सहयोग पुग्ने छ । यो पुललाई मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा समेत हेरिएकोले समयमा र गुणस्तरीय निर्माणमा पालिकाले जोड दिने उहाँको भनाई छ ।
मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अन्तरगत गोलन्जोर गाउँपालिका ६ को अक्करेभिरमा हिउँद बर्खा बाह्रै महिना पहिरो खस्ने गरेको छ । उक्त ठाउँ बाहेक खुर्कोट देखि गोलन्जोर गाउँपालिका ३ को ग्वाल्टारसम्म मात्र आधा दर्जन बढी स्थानमा पहिरोको डर छ । ति क्षेत्रमा पहिरोले मध्य पहाडी लोकमार्ग अबरुद्ध हुँदा बैकल्पीग मार्गका रुपमा खुर्कोटमाथी बाराबाट यस पुल हुँदै घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी सडकको प्रयोग गर्न सकिन्छ ।
पुल निर्माणको काममा प्राविधिक समस्या नआए तोकिएकै समय भित्र सम्पन्न गरिने पुल निर्माण कम्पनी श्रृजना निर्माण सेवाका प्रमुख उद्धव दाहालको भनाई छ । श्रृजना निर्माण सेवा जिल्लामा पुल तथा भवन निर्माणमा गुणस्तर सहित समयनै निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत समेत भएको कम्पनी हो ।
पुल शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बराल उपा
ध्यक्ष न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल, श्रृजना निर्माण सेवाका प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


