सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सोमबार
सोमबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा गाउँ सभाको १६ औ अधिवेशनको पहिलो बैठक संचालन भएको थियो ।
उक्त बैठकमा अध्यक्ष सुनुवारले फिक्कल गाउँपालिकामा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन दुवैमा ९० प्रतिशत भन्दा माथि अंक ल्याउन सफल भएको जानकारी गराउँनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्दा गाउँपालिकाको स्वमुल्यांकन समेत बृद्धि हुँदै गएको हो । यसमा तपाईहरु सबैको भुमिका छ । अझ नागरिकप्रति जनउत्तरदायी भएर काम गर्नु आवश्यक छ ।’
यस्तै बैठकमा फिक्कल गाउँपालिकाका विषयगत समितिका संयोजकहरूले चालु आर्थिक वर्ष देखी हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सोमबार भएको पहिलो बैठकले आगामी २८ गते दोस्रो बैठक बस्ने तय गरेको छ । दोस्रो बैठकले गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको गाउँपालिकाले दोस्रो गाउँ सभा तथा हिउँदे अधिवेशन बाट केही योजनाहरू संशोधन गर्न सक्नेछ । विभिन्न शीर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा समेत यस अधिवेशनबाट बजेट विनियोजन गर्न सक्ने बताइएको छ ।


