सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो ।
नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने ।
महोत्सवमा विभिन्न १२ जातजातीको कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिने छ । ती पहिचानसँग फोटो खिच्न पाईने छ । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरु प्रदर्शनीमा राखिने छन् ।
यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता गरिने छ । हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन र व्यापार गरिने छ । स्थानीय मौलिक परिकारहरु खान पाईने व्यवस्था गरिने छ ।
राष्ट्रि कलाघर सिन्धुलीले कलाघरलाई मौलिक कलाको संरक्षण गर्दै कला सिर्जनाको आविस्कार केन्द्र तथा सांस्कृतिक विश्वविद्यालयको रुपमा विकास गर्ने उद्देश्य लिएको छ ।
‘कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कला दान गरिने छ । महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ,’ मगरले थपे ।

महोत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान लगायतका कलाहरुलाई समेत प्रदर्शन गरिने छ । जिल्लाका विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।
राष्ट्रिय कलाघर सिन्धुलीमा हालसम्म विभिन्न जातजातीका धार्मीक तथा सांस्कृतिक कलाको संरक्षण, हस्तकला, जरबुट्टाकला, लोपउन्मुख विभिन्न मौलीक तथा स्थानीय सामाग्रीको संरक्षण, पन्चेबाजाको संरक्षण गदिँदै आएको छ ।
नेपालको चर्चित पशुपति, गौतमबुद्ध, जानकी मन्दिर, बौद्ध स्तुपा देखि विश्वका विभिन्न देशहरुका नमुना निर्माण गरेर संग्रहीत गरिएको छ । महोत्सव अवलोकनका लागि आउनेहरुले कलाघरको संग्रहालयको समेत अवलोकन गर्न पाउने छन् ।

स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारसंगको सहकार्यमा आयोजना गर्न लागिएको महोत्सवमासहभागि हुनेले कलाघर निर्माणमा सहयोग गर्न, कला दान गर्न सक्नेछन । विशेषगरि कलाघर र सिन्धुलीगढीलाई जोडेर प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
पाँच दिन सम्म संचालन हुने महोत्सवमा गरि १० हजारबढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघसंस्था, संचारकर्मी तथा सरकार, क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई समेत महोत्सवमा सम्मान गरिने छ ।



