सिन्धुली । सिन्धुलीमा ठुलो परिमाणमा लागुऔषध सहित तिनजना कारोबारीलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमलामाई नगरपालिका ९ भिमान स्थित बिपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अबैद्य लागुऔषध सहित एक जनालाई र उसको बयानका आधारमा थप दुई जनालाई काठमाण्डौंबाट पक्राउ गरिएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्ग अन्तरगत बर्दीवासबाट काठमाडौँतर्फ जादै गरेको मधेश प्रदेश ०४२–००१ ज ०१५५ न को इभि भ्यानलाई रोकी चेकजाँच गर्दा सिट नंं.६ मा लागु औषध सहित सवार बरहथवा नगरपलिका ७ सर्लाही बस्ने ३० का बिक्रम चौधरीलाई लागुऔषध नियन्त्रणमा लिएको हो ।
उनले बोकेको रातो रंगको झोला भित्र लागु औषध नाइट्राभेट २ हजार ८ सय ८० ट्याबलेट र गाडीको छतमा राखेको जुटको बोराबाट लागुऔषध ट्रामाडोल २९ हजार ट्याबलेट फेला पारीएको छ ।
यो जिल्लामै अहिलेसम्मकै धेरै परिमाणको लागुऔषध हो । पक्राउ परेपछि प्रहरीको अनुसन्धानमा चौधरीले आफु भरीया मात्र भएको र मालिक अरुनै भएको बयान दिएपछि थप दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरी प्रमुख सुवेदीका अनुसार उक्त अबैध लागुऔषधका धनि सिन्धुपाल्चोक ठुलोपाखर गाउँपालिका ६ बस्ने २६ बर्षीय सफल श्रेष्ठ र सिन्धुली फिक्कल गाउँपालिका ६ बस्ने वर्ष २६ का राहुल तामाङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ),(ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४ (झ) बमोजिम सजायका लागि जिल्ला अदालत सिन्धुलीबाट म्याद थपगरि थुनामा राखी अनुसन्धान भइ रहेको र काठमाडौँमा पक्राउ परेका दुई जनालाई सिन्धुली ल्याउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा जिल्लामा अबैध लागु औषध सहित ८१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई ४० वटा मुद्दा दर्ता गराएर अनुसन्धान गरेको छ । यस्ता मुद्धामा २ सय ९२ किलो गाँजा, २ सय ३३ ग्राम र ६ सय ३३ मिलिग्राम खैरो हेरोइन, ३३ हजार १ सय ५० ट्याव, ९४ बोतल झोल पदार्थ नियन्त्रणमा लिएको जनाएको छ ।


