सिन्धुली । स्थानीय सरकार, बालबालिका, लाभग्राही तथा सरोकारवालाहरुसंग बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालले सिड्स नेपाल र रिलीफ नेपालसँगको सहकार्यमा सिन्धुलीका विभिन्न स्थानीय तहहरूमा बाल समृद्धि सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रमा बुधबार सम्पन्न भएको हो ।

२०२१ देखि २०२५ सम्मको रणनीतिक चक्र समाप्ति नजिकिएको अवस्थामा नयाँ रणनीतिक चक्रको तयारीस्वरूप, विगत दुई सातादेखि गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिकामा बालबालिका सम्बन्धी मुद्दा पहिचान तथा आवश्यक कार्यक्रम तय गर्न सरोकारवाला, लाभग्राही तथा समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा समुदायस्तरमै समुह बनाई बालबालिकाको क्षेत्रमा देखिएका प्रमुख समस्याहरूको पहिचान गरिएको थियो । तीमध्ये पत्रु खानाको अत्याधिक प्रयोग, आर्थिक अवस्था कमजोर हुनु, सकारात्मक अभिभावकत्वको कमी, गुणस्तरीय शिक्षाको अभाव, मोबाइल तथा इन्टरनेटप्रति अत्याधिक झुकाव, लागुपदार्थ दुव्र्यसनी लगायतका विषयमा गहिरो छलफल गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन वल्र्ड भिजन इन्टरनेशनल नेपालको केन्द्रीय कार्यक्रम समन्वयकर्ता ध्रुव गुर्मछानले दिगोपनको अवधारणा प्रस्तुत गर्नुभएको थियो । उहाँले दिगोपन अन्तर्गत अपनत्व, स्थानीय साझेदारी, रुपान्तरीत सम्बन्ध, सामाजिक उत्तरदायित्व तथा पारिवारिक उत्थानशीलताका विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी विभिन्न वडाका जनप्रतिनिधिहरूले वल्र्ड भिजन इन्टरनेशनल नेपाल तथा साझेदार संस्था सिड्स नेपाल र रिलीफ नेपालद्वारा पालिका, वडा तथा समुदायमा सञ्चालित कार्यक्रमहरू प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका थिए ।
त्यसैगरी बाल सञ्जालका अध्यक्ष सन्देश मगरले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै संस्थाहरूको योगदानको प्रशंसा गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सामग्री तथा सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगिरहेको धारणा राख्नुभयो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका पूर्वी क्षेत्रीय कार्यालयका प्रमुख विनय अमात्यले कार्यक्रममा सहभागी सबै जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वल्र्ड भिजन, सिड्स नेपाल र रिलीफ नेपालद्वारा सञ्चालित बाल समृद्धि सम्बन्धी कार्यक्रमहरूमा निरन्तर सहकार्य आवश्यक रहेको र वल्र्ड भिजन सदैव समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा वल्र्ड भिजन, सिड्स नेपाल, रिलीफ नेपालका कर्मचारी, सरोकारवाला, बाल सञ्जालका प्रतिनिधि, अभिभावक लगायतको सक्रिय सहभागिता रहेको थियो ।



