गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ ।
अस्ट्रेलियाका समाजसेवी दाहालले सन् २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ ।
‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।
दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ ।

उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । सन् २०१९ को निर्वाचनमा महासचिव पदका उम्मेदवार रहेका उहाँले व्यापक जनसमर्थनसहित उपविजेता बन्नु भएको थियो ।
दाहालले आफ्नो उमेदवारी घोषणा गर्नु हुँदै भन्नुभयो, ‘मेरो एनआरएनएसँगको सम्बन्ध कुनै पदको आकाङ्क्षा होइन, बरु ‘एक नेपाली सधैँ नेपाली’ भन्ने भावनामा आधारित छ ।’
उहाँले एनआरएनएलाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउँदै समावेशी संरचना निर्माण गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
आफुले प्रवासमा हाँसिल गरेको सीप, ज्ञान र दक्षतालाई मातृभूमि नेपालमा लगानी र विकासमा रूपान्तरण गर्ने उद्देश्य राखेको दाहालको भनाई छ ।
दाहालले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
एनआरएनए र अन्य संघ संस्थाहरूबिच भाइचाराको सञ्जाल सुदृढ गर्दै आवश्यकतामा सहयोग पु¥याउने तथा राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय समिति बिच सशक्त सेतु बन्ने आफ्नो दृष्टिकोण रहेको घोषणा पत्रमा उल्लेख गर्नु भएको छ ।
वंशजको नागरिकता अधिकार सुनिश्चित गर्न कानुनी पहल र प्रभावकारी लबिङमा पनि सक्रिय रहने
दाहालको भनाइ छ । दाहालले आइसिसी सदस्य एनआरएनए अस्ट्रेलिया निर्वाचन २०२५ मा अत्याधिक मत दिई समर्थन सहित सदस्य पदमा विजयी गराई दिनुहुन सम्पूर्ण मतदाताहरुमा अपिल गर्नु भएको छ ।



