सिन्धुली । सिन्धुली प्रहरीले तीनपाटन गाउँपालिका २ पैरेकी एक महिलाको विभत्स हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
सिन्धुली प्रहरीले यही कात्तिक १८ गते घरबाट घाँस काट्न हिँडेकी स्थानीय महेन्द्र बहादुर थापाकी श्रीमति वर्ष ४० की छत्रकुमारी कार्की (थापा) को हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका १३ का ३१ वर्षीया सुरज भन्ने सूर्यबहादुर कामी र सोही ठाउँका निरन भन्ने टंकबहादुर कामीलाई पक्राउ गरिएको हो
प्रहरीले सुर्यबहादुरलाई दाङबाट पक्राउ गरेर सिन्धुली ल्याएको हो । सूर्यबहादुरले घटना घटाएको स्वीकार गरेपछि थप दुई जनाको संलग्नता पुष्टि भएको सुवेदीको भनाई छ । टंकबहादुर निज सुर्यबहादुरकै भान्जा हुन् ।
घटनामा संलग्न थप एक जना भने फरार रहेको र उनको खोजतलास भइरहेको एसपी सुवेदीको भनाई छ ।
९ दिनअघि घरबाट घाँस काट्न हिँडेकी कार्की वेपत्ता भएको खबरसंगै खोजतलासका क्रममा चार दिनपछि तिनपाटन गाउँपालिकाकै वडा नं १ को सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
मृत अवस्थामा फेला परेकी कार्कीको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको प्रहरीको भनाई छ ।
घटना अनुसार कार्कीको हातको औंला सबै काटिएको, एउटा स्तन काटीएको र पाठेघर समेत निकालिएको अवस्थामा भेटिएको थियो ।
स्थानीयको भनाइलाई समेत मध्यनजर गर्दै प्रहरीले सन्दिग्धको खोजतलास सुरु गर्दै जाँदा शङ्कास्पद चार–पाँच जनालाई नियन्त्रणमा लिइए अनुसन्धान गरिएकोे थियो ।
उनीहरूबाट प्राप्त सूचनाका आधारमा दुधौलीका सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरेसंगै घटनाको वास्तविकता खुलेको थियो ।
मृतक कार्कीको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिहिबार पत्रकार सम्ेलन गर्दै घटनाबारे जानकारी गराएको हो । प्रारम्भिक बयान अनुसार अवैध सम्बन्धका कारण कार्कीको हत्या भएको खुल्न आएको छ । अभियुक्त सूर्य बहादुर कामीको कार्कीसंग लामो समयदेखि अवैध सम्बन्ध रहेको र बाहिरिने डरले कामीले हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
२०७९ कात्तिक १८ गते एक १६ वर्षकी नाबालिक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउपरि पुर्पक्षका लागि थुनामा रहेका सूर्य बहादुरलाई जिल्ला अदालत सिन्धुलीले २०८० असार २२ गते सफाई दिएको थियो ।
उनै कामीले कार्कीको विभत्स हत्या गरेको पुष्टि भएको हो । उनलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिएको छ ।
मृतक कार्कीको श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा मजदुरी गर्दै आएका छन् । मृतक कार्की भने तिन छोराहरुसंगै घरमा बस्दै आएकी थिईन् ।


