सिन्धुली । जुनारको राजधानी भनेर चिनिएको सिन्धुली जिल्लामा पहिलो पटक जुनार प्रवद्र्धनका लागि जुनार मेलाको आयोजना गरिने भएको छ ।
‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा आगामी मंगलबारबाट जिल्लाको गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा जुनार प्रवद्र्धन मेला संचालन हुने भएको हो ।
सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यही मंसिर २३, २४ र २५ गते जुनार प्रवद्र्धन मेलाको आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।

‘जुनारलाई प्रवद्र्धन गरि स्थानीय अर्थतन्त्र सुदृढ पार्ने र युवा उद्यमशीलता प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष बरालले भने ।
गोलन्जोर गाउँपालिका ४ तीनकन्याको माझकुभिण्डेमा गर्न लागिएको जुनार मेलाले जुनार उत्पादनलाई थप गुणस्तरीय र व्यवसायीक बनाउन सहयोग पुग्ने अपेच्छा गरिएको छ ।
जुनार मेलाले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा छ । जुनारको उत्पादन मूल्य, बजारीकरण र कृषक मैत्री नीतिका लागि किसान, स्थानीय तह र नीजि क्षेत्रबीच समन्वय गर्न मद्धत पु¥याउने छ ।

मेलामा जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि विज्ञहरुको सुझाव संकलन गरिने छ ।
यसका साथै मेलामा जुनार बंगैचा उत्सव, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, कृषक र कृषि विज्ञ वीच प्राविधिक वार्तालाप, झाँकी सहितको जुनार बंगैचाको अवलोकन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने गरी मेलाको तयारी गरिएको छ ।
सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ्ग जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र हुन् ।

यहाँका किसानले आफ्नै मेहनत र पौरखबाट बार्षिक रुपमा लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
यी क्षेत्रमा उत्पादन हुने जुनारलाई व्यावसायिकरण, उत्पादनमा बृद्धि तथा प्रशोधनका लागि पहल गर्ने गरी मेलामा सहजिकरण गर्ने तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको भनाई छ ।
जुनार मेला कृषि विकास कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, जुनार क्षेत्रको विकास र प्रवद्र्धनका लागि क्रियाशिल गैह्र सरकारी संस्थाहरु, सहकारीहरु तथा कृषक समूहको सहकार्यमा आयोजना गर्न लागिएको उपाध्यक्ष न्यौपानले बताए । मेलाको सम्पूर्ण तयारी पुरा गरिएको बताइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा पछिल्लो समय २ सय ३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ । जुनार खेतीमा मात्र जिल्लाका ६ हजारबढीले रोजगार पाएका छन् । जिल्लामा वार्षिक रुपमा ५२ करोड रुपैयाँ बराबरको जुनार उत्पादन हुने गरेको छ ।


