सिन्धुली । सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवद्र्धन मेलाको पहिलो दिन सर्वजनिक विदा दिइने भएको छ ।
गोलन्जोर गाउँपालिकाले मेलाको पहिलो दिन मंसिर २३ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा जुनार पकेट क्षेत्र रहेको गोलञ्जोर गाउँपालिकाले मंसिर २३ देखि २५ गतेसम्म जिल्लामै पहिलो पटक जुनार प्रवद्र्धन मेलाको आयोजना गर्न लागेको छ ।

गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलवार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए ।
![]()
गाउँपालिकाले ‘जुनार प्रवद्र्धन मेला–२०८२’ मार्फत जुनारको पहिचान, संरक्षण र स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

जुनार मेलामा झाँकी, ¥याली सहित जुनार बंगैचाको अवलोकन, कृषक र कृषि विज्ञविच वार्तालाप, कृषक सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।
![]()
गत आर्थिक वर्ष २०८१÷०८२ को तथ्याङ्क अनुसार सिन्धुली जिल्लामा १ हजार १ सय १३ हेक्टर जमिनमा जुनार खेति गरिँदै आएको छ । त्यस मध्ये ६ सय ५० हेक्टरमा व्यावसायिक उत्पादन हुँदै आएको छ । जिल्लामा १३ दशमलव ०३ मेक्ट्रिक टन जुनार प्रति हेक्टरका दरले करिव ९ हजार १ सय २१ मेक्ट्रिक टन जुनार उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

गोलन्जोर गाउँपालिकाको १ देखि ७ नम्बर वडामै जुनारको खेति हुँदै आएको छ । त्यस मध्ये सबैभन्दा बढी गोलन्जोर गाउँपालिका ४ को तिनकन्या स्थित माझकुभिण्डे, मालिङ्गे, आलेडाँडा, डाँडागाउँ लगायतका क्षेत्रमा हुने जुनारको उत्पादन हुने गरेको छ ।
जिल्लामा उत्पादन हुने जुनार मध्ये ३१ दशमलव ८३ प्रतिसत जुनार विभिन्न रोग किराको संक्रमणले क्षेती हुने गरेको छ ।

गोलन्जोर गाउँपालिकामा जुनार उत्पादनबाट मात्र कृषकहरुले वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपैयाँ आम्दानी लिने गरेका छन् । जुनार खेतिमा गोलन्जोरका मात्र २ हजार ७ सय ५० जना कृषकहरु प्रतक्षरुपमा संलग्न रहेका छन् ।


