सिन्धुली । सिन्धुलीमा एक जना पुरुषको गोली लागी मृत्यु भएको छ ।
जिल्लाको सुनकोसी गाउँपालिका ५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा वर्ष २२ का आशमान तामाङको गोली लागी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब ३ किमि दक्षिणमा रहेको सिन्धुलीको घ्याङलेख गाउँपालिका १ पिउरी खोलाको जङ्गलमा उत्तानो परी नाईटोबाट रगत बगी मृत अवस्थामा फेला परिएको थियो ।
घट्नाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक आशमान तामाङको पेटको भागमा गोली लागेको अवस्थामा रहेको, मृतकको लाश नजिक एक थान भरुवा बन्दुक बिच भागमा भाँचिएको अवस्थामा फेला परेको र मृतकले भिरेको अवस्थामा रहेकोले उनको गोली लागी मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको हो ।
उनले भिरेको झोलामा निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो रङको धुलो र रातो बिर्को भएको बट्टा भित्र बारुद जस्तो फलाम र सिसाको टुक्रा समेत फेला परेको प्रहरीको भनाई छ ।
घटनास्थलमा लाश जाँच मुचुल्का पश्चात मृतक तामाङको शव पोष्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याई राखि घट्नाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रमुख सुवेदीको भनाई छ ।
उक्त घटना हेर्र्दा मृतक तामाङ आफैले बन्दुक चलाउँदा पड्कीएर दुर्घटना भएको वा अरु कसैले कर्तव्य गरि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
उक्त घटनाका सम्बन्धमा प्रहरी चौकी अमले इलाका प्रहरी कार्यालय बस्तिपुर र इलाका प्हरी कार्यालय खुर्कोटको टोली खटि अनुसन्धान थालेको छ ।


