सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटार बस्तिपुरमा मंगलबार राति एस बि आइ बैंक शाखा लुटपाट भएको छ ।
हतियार सहित आएको समुहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
मंगलबार राति करिव ८ ः४० मा बैंकमा हतियार सहित प्रवेश गरेको समुहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटी फरार भएका थिए ।
प्रहरी प्रमुख (एसपी) सुवेदीका अनुसार घटना लगत्तै प्रहरीको टोली परिचालन गरि खोजतालास गर्ने क्रममा १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ जंगलमा फेलापारी बरामद गरिएको छ ।
घटनामा लुटेराहरुले बनेपाबाट रिजर्भ गरी प्रयोग गर्न ल्याएको विएडी ०३९८ नम्बरको टाढा सुमो जीप र त्यसका चालक भवत सिंह थापा लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुटेराहरुले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई हतियार देखाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए ।
उनको देब्रे हातमा चोट लागेको छ । लुटेराहरुको समुह कम्तीमा ६ जना भएको अनुमान छ । उनिहरु मध्ये चारजनाले खुकुरी र दुई जनाले पेस्तोल देखाएर आक्रमण गरेको बैंकका सुरक्षा गार्ड कार्कीको भनाई छ । सुरक्षा गार्ड कार्कीको अवस्था अहिले सामान्य छ ।
लुटेराले बैंकका अन्य कर्मचारीहरुलाई समेत बाँधेर नियन्त्रणमा लिएका थिए ।
घटना लगत्तै आएको प्रहरीले उनिहरुलाई उद्धार गरेको थियो । बैंकका लुटेराहरु काभ्रे जिल्ला तर्फबाटै आएको हुन सक्ने प्रहरीको अनुमान छ । उनिहरुको खोजिका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्जव सुवेदी, प्रहरी नायव उपरिक्षक (डिएस्पी) सूर्यप्रकाश सुवेदी, इलाका प्रहरी कार्यालय बस्तिपुर लगायतको टोली खटिएको छ ।
घटनाका सम्बन्धमा निज लुटेराहरूको तीव्र खोजतलास एवं व्यापक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।


