सिन्धुली । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा संचालन भएको छैठौं मरिण गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वडा नम्बर ३ र महिलातर्फ वडा नम्बर ४ ले हात पारेको छ ।
मरिण गाउँपालिका ७ स्थित रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल प्रतियोगितामा वडा नम्बर ३ ले घरेलु टिम वडा नम्बर ७ लाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

यस्तै महिला तर्फको फुटबल उपाधि साविक विजेता वडा नम्बर ४ ले जितेको छ । फाइनलमा वडा नम्बर ३ र ४ दुबै टिम गोल रहित बराबर भएपछि पेनाल्टी सुटअउटमा २–१ ले वडा नम्बर ४ विजयी भएको हो ।
प्रतियोगिताको पुरुष फुटबलको विधागतर्फ उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का राजन माझी बन्दा उत्कृष्ट डिफेन्डर पनि वडा नम्बर ३ कै बिशन मोक्तान चुनिएको खेलकुद विकास समितिका अध्यक्ष सुमन रानाले जानकारी दिए ।

यस्तै उत्कृष्ट मिडफिल्डर वडा नम्बर ७ का सन्देश थिङ बने भने उत्कृष्ट फरवार्ड वडा नम्बर ७ कै राजकुमार माझी बने । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वडा नम्बर ३ का सुदिप मोक्तान घोषित भएका छन् ।
त्यसैगरी विधागततर्फ उत्कृष्ट गोलरक्षक वडा नम्बर ४ की कबिता माझी बन्दा उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ की सुस्मिता थिङ बनिन् । उत्कृष्ट मिडफिल्डर वडा नम्बर ४ की सुस्मिता माझी भईन भने उत्कृष्ट फरवार्ड वडा नम्बर ३ की लक्ष्मी लो बनेकी छिन् । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वडा नम्बर ४ कै गोलरक्षक कबिता माझी घोषित भईन् ।

यस्तै प्रतियोगितामा क्रिकेट तर्फ वडा नम्बर २, ब्याडमिन्टन तर्फ वडा नम्बर ३ र भलिवल तर्फ वडा नम्बर ४ को टिमले उपाधि हात पारेका छन् ।
सबै विधाका प्रतिस्पर्धीलाई गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) र उपाध्यक्ष बिमला माझीले संयुक्त रुपमा नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको छ ।
प्रतियोगिता अन्तरगत फुटबल तर्फ विजयी टिमलाई ४०÷४० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र र उपविजेता टिमले नगद २०÷२० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरिएको छ ।

यस्तै भलिबल तर्फको विजेता समुहले नगद १५÷१५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन भने उपविजेता समुहले नगद १०÷१० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
क्रिकेट तर्फ विजेता समुहले नगद १५ हजार र उपविजेता समुहले नगद १० हजार रुपैयाँ र ब्याडमिन्टन तर्फका विजेता समुहले नगद ७ हजार र उपविजेता समुहले नगद ४ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगिताको पुरुष फुटबलका लागि १० र महिला फुटबल प्रतियोगिताका लागी ७, महिला र पुरुष भलिवल प्रतिस्पर्धाका लागि ७÷७ वटा टिम, क्रिकेटका लागि ४ र ब्याडमिण्टन प्रतिपर्धाका लागि ५ वटा टिम सहभागि थिए ।

उक्त प्रतियोगिता संचालनको लागि मरिण गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको खेलकुद विकास समितिका अध्यक्ष रानाको भनाई छ ।




