सिन्धुली । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिंज्य संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा स्थानीय उत्पादन, धार्मीक तथा पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारबाट सातौं सिन्धुली महोत्सवको आयोजना गरिने भएको छ ।
माघ ९ गते शुक्रबारबाट १९ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवमा जुनार लगायतका स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, जडीबुटी, स्थानीय खाद्य परिकार, अल्लो तथा ढाकाका उत्पादनका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तन र स्टार्टअपसम्बन्धी सामग्रीसमेत प्रदर्शनीमा राखिने छ ।
महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धनका लागि ३ सय १५ वटा स्टल राखिने छ । महोत्सवमा लोपउन्मुख खैंजडीबाजा, स्थानीय लोक गायन तथा नृत्य प्रतिस्पर्धा समेत गराईने सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।
‘महोत्सवले जिल्लाका स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता प्रवद्र्धन, साना उद्यमी र व्यवसायीलाई प्रोत्सहान गर्ने छ । यसले यहाँका धार्मी तथा पर्यटनका साथै मौलिक र परम्परागत संस्कृतिको समय प्रवद्र्धनमा मद्धत पु¥याउने विश्वास गरेका छौं, श्रेष्ठले भने ।
यस वर्ष महोत्सव अवलोकनका लागि आउने दर्शकहरुका लागि जिल्लाको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारका लागि विशेष स्टल तथा सूचना कक्ष राखिने भएको छ । महोत्सवमार्फत सिन्धुलीलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउँन सांस्कृतिक उत्सवको रूपमा विकास गर्दै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू संचालन गरिने बताइएको छ ।
उता शुक्रबार उद्घाटन गरिने महोत्सवको सम्पूर्ण तयारी पुरा गरिएको महासंघका महासचिव बासु प्रसाद भेटवालको भनाई छ ।
सातौं महोत्सवको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गर्ने कार्यक्रम तय भएको महासचिव भेटवालको भनाई छ । ‘उद्घाटन समारोहमा स्थानीय जातजाति, भाषा, संस्कृति र पहिचान झल्काउने बाजागाजा, झाँकी तथा विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य ¥यालीको आयोजना गरिने छ,’ उनले भने ।


