सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ ।
बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो ।
गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।
गाउँपालिकाले अनुदानका लागि ९ लाख ६४ हजार ६ सय ३३ रुपैयाँ ४ पैसा विनियोजन गरेको भएपनि १५ प्रतिशत करकट्टी गर्दा किसानहरुले ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा पाएका हुन् ।
यस्तै गाउँपालिकाले गोलन्जोर गाउँपालिकाको वडा नम्बर ७ स्थित कृषक उत्थान दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड मार्फत ४३ जना किसानहरुलाई २ लाख २३ हजार ७ सय ८३ रुपैयाँ रकम वितरण गरेको छ । वडा नम्बर ७ का किसानहरुले व्यावसायिक रुपमा उत्पादन गरेको दुधका आधारमा उक्त रकम वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए ।
वडा नम्बर ७ का ४३ जना किसानहरुले एक वर्षमा ७४ हजार ५ सय ९४ दशमलव ६ लिटर दुध उत्पादन गरि विक्री गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष बरालले दैनिकरुपमा कम्तीमा चारलिटर दुध सहकारीमा विक्री गर्ने किसानहरुलाई प्रतिलिटर ३ रुपैयाँका दरले गाउँपालिकाले अनुदान उपलब्ध गराएको जानकारी दिए ।
किसानहरुलाई चेक हस्तान्तरण गर्दै उनले भने, ‘गाउँपालिकाले यस्तो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने छ । तर, तपाईहरुले व्यावासयिक रुपमा दुध उत्पादन र विक्री वितरणमा पारदर्शीता र इमान्दारीता देखाउन सक्नुपर्दछ ।’
अध्यक्ष बरालले गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखे काम गरिरहेको भएपनि किसानहरु व्यावसायिक हुन नसक्दा समस्या हुने गरेको बताए ।
उनले थपे, ‘तपाईहरु दुध उत्पादनका लागि गाई भैंसि व्यावसायिक रुपमा पालन गर्नुस, उद्योगमा जति दुध उत्पादन भएपनि खपत गर्ने र किसानलाई समयमा रकम भुक्तानी गर्न सक्ने बन्नुस हामी पालिकाले उत्पादनमा आधारित रहेर दुध, उद्योग स्थापना, दाना व्यवस्थापन, बजारी करण ढुवानीका लागि समेत सहयोग गर्न तयार छौं ।’
बरालले अनुदानमा आधारीत रहेर सहयोग गर्दा बास्तीवक किसानको हातमा रकम पुग्ने भन्दै गाउँपालिकाका निम्न बर्गका किसानहरुलाई व्यावसायिक बनाउँदै त्यसैबाट स्वरोजगार र आर्थिक हिसावले समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले गाउँपालिकाका नागरिकहरुलाई कृषि क्षेत्रबाटै ब्यावसायिक बनाउनका लागि अनुदानको व्यवस्थापन गर्न थालेको उल्लेख गरे ।
सिधै व्यवसाय गर्न अनुदना दिँदा झोले किसानहरुको हातमा पर्ने भएपछि पालिकाले उत्पादनमा आधारित भएर अनुदान दिँदा बास्तविक किसानले पाउने गरेको न्यौपानेको तर्क छ ।
उनले गाउँपालिकाले आगामी वर्षबाट कषि क्षेत्रलाई व्यावसायिकरण, आधुनिकीकरण र यान्त्रीकरण गरिदै लगिने बताउँदै योजना माग गर्दा वडा स्तिरबाटै कम्तीमा ५० प्रतिसत योजनाहरु कृषि तथा पशुपालनका छनौट गर्न आग्रह समेत गरे ।
गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल (केपी) र वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बहादुर लुंगेलीले किसानहरुको समस्या र कृषि क्षेत्रको विकास लागि संधै सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
जुनार सहकारी संघका जिल्ला अध्यक्ष निर्मल कुमार रम्तेलले गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउँन सके स्थानीय नागरीकले रोजगारका लागि अनेत्र धाउन नपर्ने उल्लेख गरे ।
उनले भने, ‘हामी जुनार तथा फलफुल उत्पादनमा पकेट क्षेत्रका रुपमा परिचित छौं । अव दुध तथा दुध जन्य परिकार उत्पादन, तरकारी तथा फलफुल उत्पादनमा समेत व्यावासयिक भएर लाग्ने हो भने पकालिकाको विकासले फड्को मार्ने छ । किसानका आर्थिक अवस्था समेत सवल बन्ने छ ।’
स्थानीय शिक्षक लेखबहादुर बस्नेतले उत्पादनमा आधारित भएर किसानहरुलाई दुधमा अनुदान दिँदा किसानहरुको पसिनामा उर्जा थपिएको उल्लेख गरे । कृषिमा राज्यले ठुलो रकम लगानी गरेपनि बास्तविक किसानसम्म पुग्न नसकेको अवस्थामा गाउँपालिकाले अनुदान दिएर उल्लेखनिय कार्य गरेको बस्नेतको भनाई छ ।
यस्तै लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाका संरक्षक तथा सहकारी अभियान्ता सुमनविक्रम थापाले किसानहरुले व्यावसायिक रुपमा दुध उत्पादन थालेपनि त्यसको खरिद विक्री, दुग्धजन्य परिकार उत्पादन तथा विक्रीमा समस्या हुने गरेको गुनासो गरे ।
उनले भने, ‘हामीले सहकारी संस्थाको गठन गरेर किसानका दुध संकलन गर्न थालेपनि चिस्यान केन्द्र तथा दुग्धजन्य परिकार उत्पादनका लागि उद्योग संचालनमा समस्या भएको छ । त्यसलाई बजारसम्म पु¥याउन र विक्री वितरण गर्न समस्या हुँदा किसानले भनेजती दुध सहकारीले खरिद गर्न सक्ने अवस्था आएको छैन । त्यसमा गाउँपालिकाले सहयोग नगर्नेहो भने झन समस्या आउँन सक्छ ।’
सहकारी संस्थाका अध्यक्ष शुभद्रा कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव शान्तिबहादुर बानियाले स्वागत मन्तव्य राखेका थिए भने सहकारीका कोषाध्यक्ष देबबहादुुर आलेले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य अम्बरदिप विक, स्थानीय राजनीतिक दलका प्रतिनीधि, सहकारी संस्थाको प्रतिनीधिहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।


