सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ ।
बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य राजन दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताए ।

उनले भने, ‘जो शारिरिक रुपमा स्वस्थ हुन्छ उ नै मानसिक रुपमा स्वास्थ हुने भएकालेले यस्ता खेलका माध्यमबाट बालबालिकाहरुको चौतर्फी विकासमा मद्धत पुग्दछ । यस्ता प्रतिभाहरु जिल्ला र राष्ट्रकै लागि उपयोग गर्नेगरी शिक्षामा जोड दिनुपर्दछ ।’

यस्तै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले गाउँपालिकाको शैक्षिक जगतलाईनै माथि उठाउने गरी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले भने, ‘गाउँपालिकाले भिनिन्न कार्यक्रमको आयोजना गर्दै शैक्षिक क्षेत्रलाई माथि उठान ३ लाख रुपैयाँ बजेट विनियोजन गर्दै यो प्रतियोगिताको आयोजना गरिएको हो । यसले सिंगो पालिकाको शैक्षिक क्षेत्रको विकासमा मद्धत पु¥याउँद छ ।’

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाराज शर्माले कुनैपनि देशको विकास र समृद्धिको रुपमा नागरीकहरुमा शारिरिक रुपमा स्वस्थ हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ हुन जरुरी रहेको भन्दै त्यसका लागि अनुशासन सहित खेल क्षेत्रबाट विद्यार्थीहरुमा सहयोग पु¥याउने बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विशाल थिङ तामाङले पछिल्लो समय संघिय सरकारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छुट्याउँदै आएको बजेट कटौंती गरिएको अवस्थामा पनि पालिकाले यस्ता प्रतियोगिताको आयोजना गर्नु जिल्लाको सिंगो खेल क्षेत्रका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

उनले भने, ‘यो वर्ष संघिय बजेटमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छुट्याउँदै आएको बजेट कटौती भएको छ । यस्तो हुनु दुःखको कुरा हो । खेल क्षेत्रको विकास लागि यस्तो प्रतियोगिताका लागि तोकीएको बजेट निरन्तरा दिन सबैले पहल गर्नुपर्दछ ।’
मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दाशका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गराएर बजेटको व्यवस्थापन गर्दै समग्र खेल क्षेत्रको विकासमा लगानी गरिएको बताए ।

मरिण गाउँपालिकाको तिन लखा रुपैयाँ सहयोगमा आयोजित उक्त प्रतियोगितामा गाउँपालिकाका विभिन्न १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद, शिल्ड, मेडल र प्रमाण, द्धितिय हुनेलाई ७ हजार नगद, शिल्ड, मेडल र प्रमाण र तृतिय हुनेलाई ५ हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने छ ।

मावि कपिलाकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा शिक्षक खेमहरी दाहालले स्वागत तथा मावि कपिलाकोटाका प्रध्यानाध्यापक अमृतसिं घिसिङले संचालन गरेका थिए ।







