सिन्धुली । फागुन १ गते तत्कालिन नेकपा माओवादीले हतियारको बलमा राज्यसत्ता कब्जा गर्ने उद्घोषका साथ सशस्त्र जनयुद्धको उद्घोष गरेको दिन अर्थात जनयुद्ध दिवस ! नेकपा माओवादी केन्द्रले देशैभर विभिन्न कार्यक्रम गर्दै आज ३० औं जनयुद्ध दिवस मनाएको छ । यसै सन्दर्भमा बिहिबार ३० औं जनयुद्ध दिवसको दिन सिन्धुलीको घ्याङ्लेख गाउँपालिका १ अमलेमा महान जनयुद्धका सहिदहरुको सालिकामा माल्यार्पण गरिएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा सहिदहरुप्रति श्रद्धाभाव सहित माल्यार्पण गरिएको हो ।
नेकपा माओवादी केन्द्र घ्याङ्लेख गाउँकमिटिका अध्यक्ष चक्र पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा जनयुद्धका सहिदहरु ज्ञानेन्द्र देबकोटा, टिका देबकोटा, प्रेम बहादुर खड्का, निर्मल देबकोटा, कमल देबकोटा, मोहनचन्द्र देबकोटा, निर्मला देबकोटा, खड्ग बहादुर देबकोटा, पन्चलाल पाख्रिन, जगत पाख्रिन, छत्र वबहादुर थिङ र पदम बहादुर विकको सालिकमा माल्यार्पण गरिएको नेकपा माओवादी केन्द्र घ्याङ्लेख गाउँकमिटिका सचिव मोतिलाल थिङले जानकारी दिनुभयो ।
यि बाह्रै जना सहिदहरु सशस्त्र जनयुद्धकै क्रममा राज्यपक्षबाट हत्या गरिएको थियो । २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले जनयुद्धको उद्घोष गरेको थियो । माओवादीले सोहि दिन सिन्धुलीगढी स्थित प्रहरी चौकी आक्रमण गर्ने योजनो अमलेकै भ्वाँसे भन्ने स्थानमा बसेर बनाएको थियो । अमलेलाई पूर्वको रोल्पा अर्थात जनयुद्धको उद्गम स्थलका रुपमा लिइन्छ ।
जनयुद्धको उत्कर्षका बेला शाही सेना र प्रहरीको ज्याजती सहन नसकेर पटमास, सिम्ले, ध्वाँसेका स्थानीय २०५५ सालमा गाउँनै खालि गरेर महोत्तरीको चेरुमाइस्थान तर्फ बसाँई सरेका थिए । पछि तत्कालीन प्रतिनिधिसभा सदस्य लिलामणी पोख्रेलको पहलमा उनिहरुलाई अमलेमै पुनस्थापना गराउँनु भएको थियो ।
सोही क्षेत्रलाई लक्षित गर्दै तत्कालीन सरकारले संचालन गरेको अप्रेसनका क्रममा सहिदहरु ज्ञानेन्द्र देबकोटा र टिका देबकोटालाई सुतेको बेला घरबाटै कब्जामा लिएर सुरक्षाकर्मीले नजिकै हात्तिगौडामा लगेर हत्या गरेको थियो ।
तिनै सहिदहरुको संझनामा स्थानीय र पार्टीले सामुहीक सालिक निर्माण गरेको थियो । सहिदहरुको सालिकमा पाटिीका जिल्ला संयोजक बम्जन, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य ज्ञान बहादुर सिंजाली, सहिद पत्नी पूर्णकुमारी देबकोटा (निमा), पार्टी सचिव मोतिलाल थिङ लगायत नेता कार्यकर्ता तथा सहिद परिवारले माल्यार्पण गर्दै उहाँहरुको योगदानका बारेमा स्मरण गरिएको थियो ।
उक्त अवसरमा जनयुद्धको आवश्यकता, त्यसको उपलब्धी र रक्षाका विषयमा माओबादीका नेता तथा कार्यकर्ताहरुले खुल्नु पर्ने भुमिकाका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमको संचालन पार्टी सचिव मोतिलाल थिङ गर्नुभएको थियो ।