सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाले शहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नो वार्षिक निति तथा कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत रहेका शहिद तथा वेपत्ता परिवार, आमाबुबा विहिन बालबालिका, अनाथ एवम द्धन्द्ध पिडित बालबालिकाहरुलाई छात्रवृत्ति वितरण तथा स्नातक तह उतिर्णगरी बिवाह गर्ने किशोरी तथा अबिवाहीत महिलालई नगद सहित प्रोत्सहना गरेको हो ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै सम्मान, छात्रवृत्ति वितरण तथा प्रोत्साहनका लागि ३० लाख रुपैयाँ रकम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।
उनका अनुसार आमा बाबु बिहिन ६० जना बाल बालिका हरुलाइ प्रतिब्यक्ति २४ हजारको दरले १४ लाख ४० हजार नगद भत्ता वितरण गरिएको छ । यस्तै मरिण गाउँपालिका अन्तर्गत शहित तथा वेपत्ता परिवारका ४८ जनालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले ९ लाख ६० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
‘यस्तै द्धन्द पीडित परिवारका विद्यालय तथा क्याम्पसमा अध्ययनरत ७२ जना छात्र तथा छात्राहरुलाई कक्षागत रुपमा जम्मा ५ लाख रुपैयाँ नगद छात्रवृत्ति वितरण गरिएको छ,’ अध्यक्ष मोक्तानले भने ।
गाउँपालिकाले स्नातक तह उतीर्ण गरि विवाह गर्ने किशोरी तथा अविवाहित महिलाको लागि १ लाख प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्तरगत सदाझै यसपटक पनि गाउँपालिकाले एक जना किशिोरीलाई नगद १ लाख सहित सम्मान गरेको बताइएको छ ।
गाउँपालिकाले शसस्त्र द्धन्द्धका क्रममा प्रभावित परिवारका लागि सहयोग गर्ने गरि नितिनै बनाएर यस्ता कार्यक्रमहरु लागु गर्दै आएको छ । आगामी पाँच वर्षभित्रमा शहिद तथा वेपत्ता परिवारका लागि कम्तीमा एक लाख रुपैयाँ प्रोत्सहान स्वरुप सहयोग गर्नेगरी काम भईरहेको अध्यक्ष मोक्तानको भनाई रहेको छ ।
गाउँपालिकाले पूर्व जनमुक्ती सेना तथा बहिर्गमित लडाकुलाई समेत लक्षित गर्दै निशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले ६ सय बढी विपन्न तथा गरिव परिवारको पाँच जनासम्मको निशिुल्क स्वास्थ्य विमा गर्ने लक्ष्य लिएको छ ।


